राजविराज । सप्तरीमा सिंचाइ, विद्युत् र मलको अभावले समस्या झेलिरहेका किसानहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल आइतबार स्थलगत निरीक्षणमा निस्किएका छन् ।
निरीक्षणका क्रममा उनले कोशी पम्प नहर प्रणालीमा देखिएको समस्या गम्भीर भएको भन्दै तुरुन्त सुधारात्मक कदम चाल्न निर्देशन दिएका छन् ।
प्राविधिक टोलीसहित स्थलमै पुगेका दाहालले प्रणालीमा बिग्रिएका तीनवटा पम्प तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आदेश दिएका छन् । साथै, पम्प सञ्चालनमा आवश्यक पर्ने विद्युत आपूर्तिको समस्या समाधान गर्न उच्च भोल्टेज सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । उनले नहरको हेड रेगुलेटर क्षेत्रको निगरानीलाई समेत कडा बनाउन निर्देशन दिएका छन्, जसले सिँचाइ प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।
कोशी पम्प क्षेत्रअन्तर्गत रहेका सबै उपभोक्ता समितिहरूको समन्वयमा साउन १२ गते बैठक राख्ने र सिँचाइ वितरण सन्तुलित ढंगले सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।
प्रजिअ दाहालले समस्या दीर्घकालीन रूपमा समाधान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न निर्देशन दिँदै आवश्यक बजेट र नीतिगत सुधारका लागि केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |