राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन भोलि साउन १९ गते (सोमबार) हुने भएको छ ।
निर्वाचन समितिले आइतवार साँझ सूचना जारी गर्दै संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
संशोधित तालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिएको छ भने भोलि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाइएको छ ।
मतदान सम्पन्न भएलगत्तै साँझ ५ बजेदेखि मतगणना सुरु गरिने समितिको भनाइ छ ।
यसअघि साउन १८ गतेका लागि तय गरिएको निर्वाचन तालिका विशेष कारणवश परिमार्जन गर्दै साउन १९ गतेका लागि सारिएको हो ।
जसपा नेपालको सप्तरी एकताको प्रथम अधिवेशन अन्तर्गत गत बिहीबार सम्पन्न बन्द सत्रमा जिल्ला कार्यसमिति चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |