राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आज विहान मलेसिया पुगेका छन् ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, महासचिव विष्णु बराल, सचिव उमेश महतो, गैरआवासीय मधेसी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’, मलेसियामा कार्यरत पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले न्यानो स्वागत गरेका थिए ।
यस भ्रमणका क्रममा मुख्यमन्त्री सिंहले मलेसियामा कार्यरत हजारौँ नेपाली कामदारहरूको अवस्था प्रत्यक्ष बुझ्ने, उनीहरूको समस्या र अनुभव सुन्ने तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हकहितका लागि ठोस पहल गर्न सकिने अवसरका रूपमा यस भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
यसैबीच, मुख्यमन्त्री सिंह आज साँझ क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलको सभाहलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा आयोजना हुने हरितालिका तीज विशेष कार्यक्रममा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |