राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकको विरोधमा सोमबार राजबिराजमा विशाल प्रदर्शन गरेको छ ।
जसपा नेपाल सप्तरी अध्यक्ष केदार यादवको नेतृत्वमा निकालिएको विरोध र्याली नगरका विभिन्न स्थान परिक्रमा गरी नेता चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका महासचिव मनिष कुमार सुमनले भूमि विधेयक मुलुक र जनताको हितमा नभई भू–माफिया तथा जग्गा दलालको हितमा मात्र केन्द्रित रहेको आरोप लगाए । उनले यस विधेयक कार्यान्वयन भए वनजंगल विनाश भई तराई–मधेश मरुभूमिकरण हुने चेतावनी दिए ।
महासचिव सुमनले भूमि विधेयकलाई अघि बढाइए वा गौर घटनामा अध्यक्ष उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र गरिएमा पार्टी सशक्त आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिए । उनले यसलाई स्वीकार नगर्ने पनि बताए ।
सभामा जसपा नेपालकी केन्द्रीय सदस्य पुनम यादवले दुई तिहाइ बहुमतको भरमा सरकारले भूमि विधेयक पारित गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताइन्। उनले सरकारले आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपले अघि बढ्ने चेतावनी दिइन् ।
त्यस्तै, केन्द्रीय सदस्य रमिला साहले भूमि विधेयक जनविरोधी रहेको दाबी गरिन्। उनले जसपा नेपालले विधेयक पारित हुन नदिएपछि अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप लगाइन् ।
पार्टीका युवा नेता किशोर कुमार यादवले वर्तमान सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको आरोप लगाए । उनले जनविरोधी कुनै पनि कदम पार्टीलाई स्वीकार्य नहुने भन्दै जसपा नेपाल सधैं देश र जनताको हितमा अगाडि बढ्ने बताए ।
कार्यक्रममा मधेश प्रदेश कार्यकारिणी सदस्य दिनेश यादव, राजबिराज नगर समिति अध्यक्ष अरुण यादव, युवा नेता श्यामकुमार यादव, राजकिशोर खंग, नवनित झा लगायतका नेताहरूले पनि भूमि विधेयक तत्काल फिर्ता लिनुपर्नेमा जोड दिए । कोणसभाको सञ्चालन जिल्ला उपाध्यक्ष लक्ष्मण यादवले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |