राजविराज । भदौ २४ गते भएको भीषण आगलागीका कारण उच्च अदालत जनकपुर राजविराज इजलास र सप्तरी जिल्ला अदालतमा सम्पूर्ण मुद्दाको पेशी तथा अदालती काम–कारवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अदालत प्रशासनले जारी गरेको सूचनामा आगलागीले दुवै अदालतको भवन पूर्णरूपमा नष्ट भएको उल्लेख छ । मिसिल, कम्प्युटर, प्रिन्टर, नेटवर्किङ उपकरणलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएकाले आज तोकिएका मुद्दा मात्र नभई भोलिदेखि तोकिएका सबै पेशी अर्को सूचना नआएसम्मका लागि स्थगित हुने जानकारी गराइएको छ ।
सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अदालत प्रशासनले दुःख व्यक्त गर्दै, अवस्था सामान्य भएपछि मात्र नियमित कामकाज सञ्चालन हुने स्पष्ट पारेको छ ।
जेन–जी आन्दोलनका क्रममा देशभर सार्वजनिक सम्पत्तिमा भइरहेको तोडफोड र आगजनीकै बीचमा अदालतमा भएको यो क्षतिले न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । यसले मुद्दा विचाराधीन रहेका सर्वसाधारण थप समस्यामा परेको भन्दै तीव्र आलोचना सुरु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |