राजबिराज । सप्तरीमा कर्फ्युको समय थपिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार सूचना जारी गर्दै बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म र बेलुकी ७ बजे देखि भोलि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिएको हो ।
सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुरक्षालाई ध्यानमा राख्दै चार किल्लाभित्र कसैलाई आवतजावत, जुलुस, सभा, बैठक वा कुनै किसिमको प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।
सीमाना उत्तरतर्फ उदयपुर, पूर्वतर्फ सुनसरी, दक्षिणतर्फ भारतको सीमा र पश्चिमतर्फ सिरहा जिल्लासम्म निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
उनले जनतालाई अनावश्यक आवतजावत नगरी प्रशासनले तोकेको नियम पालना गर्न आग्रह गरेका छन् ।
प्रशासनले कर्फ्यु अवधिभर विशेष सतर्कता अपनाउने र सुरक्षाको सुनिश्चितताका लागि विभिन्न निकायमार्फत निगरानी गर्ने उल्लेख सूचनामा गरिएको छ ।
भदौ २४ गते बिहान ३:३० बजेदेखि लागू गरिएको कर्फ्युलाई यसरी निरन्तरता दिइएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |