राजविराज । सप्तरीको राजविराजमा संविधान दिवसको अवसरमा शुक्रवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । कतै उत्सवको माहोल थियो भने कतै विरोधका स्वर सुनिएका छन् ।
मुख्य समारोह अन्तरगत, सप्तरीको प्रशासनद्वारा आयोजित प्रभातफेरी मार्फत नागरिकमा जागरूकता फैलाइयो र गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो। उक्त अवसरमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। र्यालीमा राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिएनन् ।
त्यसैगरी, संयुक्त लोकतान्त्रिक मोर्चा सप्तरीले संविधानको विरोधमा राजविराजका विभिन्न स्थानमा कालो पट्टी बाधेर प्रदर्शन गरेको थियो । उनीहरूले २०७२ सालमा जारी भएको संविधानलाई मधेशी जनताको भावना र अधिकार बिनाको बताएर पुर्नलेखन तथा संशोधनको माग गरेका छन् । मोर्चाका नेता गजेन्द्र मण्डलका अनुसार, विरोध प्रदर्शनमा विभिन्न नाराजुलुससमेत सञ्चालन गरिएको थियो ।
२०७२ साल असोज ३ मा दोस्रो संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भए पनि मधेशी दलहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउँदै आएका छन् ।
सहभागीहरूका अनुसार, हालैको जेनजी पुस्ताको आन्दोलनपछि देशमा उत्पन्न असहज परिस्थितिले संविधान दिवसको उत्साहमा केही कमी आएको महसुस भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |