राजविराज । महिला अधिकारका लागि महिलाहरू आत्मनिर्भर र शिक्षित बन्नु अपरिहार्य भएकोमा सहभागीहरूले जोड दिएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साहले जेनजी आन्दोलनले मुलुकमा आमूल परिवर्तन ल्याएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धको संघर्षले देशमा सुशासन कायम हुने विश्वास व्यक्त गरे । उनले जेनजी आन्दोलनले भ्रष्टाचार शून्यमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।
त्यसैगरी, तराई मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी सुनिता साहले जेनजीले उठाएको भ्रष्टाचारविरोधी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै जागरूक बन्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरूले आफ्ना संवैधानिक अधिकारका लागि सक्रिय, संगठित र एकताबद्ध भएर अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याइन् ।
देशको परिवर्तित परिस्थितिमा महिला अधिकारबारे अन्तरक्रिया तथा बडादशैं, तिहार र छठ पर्वको अवसरमा बुधबार नेपाल पत्रकार महासंघ, सप्तरी शाखाको सभाहलमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।
अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धिरेन्द्र प्रसाद साह, महिला अधिकारकर्मी अनुराधा देवी साह, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष धिरेन्द्र दास, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्ण, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव, शिक्षिका बन्दना मिश्र, बृतजमान तामाङ, इन्जिनियर सुरेन्द्र प्रसाद यादव, पुष्पा स्वर्णकारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |