राजबिराज । शक्तिपीठ छिन्नमस्ता सखडा मन्दिर परिसरभित्र नेपाली सेनाले निर्माण गरेको शिव मन्दिरको सोमबार विधिपूर्वक उद्घाटन गरिएको छ ।
वडादशैंको फूलपातीको अवसर पारेर उद्घाटनसँगै उक्त मन्दिरलाई छिन्नमस्ता मन्दिर संरक्षण समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाका अनुसार, मन्दिर निर्माण मध्यपूर्वी पृतना अन्तर्गत २७ नम्बर वाहिनी तथा सम्बन्धित युनिटहरूको समन्वय र अथक पहलमा सम्पन्न गरिएको हो ।
उद्घाटन समारोहमा मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जी.सी.ले नेपाली सेनाले राष्ट्रिय सुरक्षासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा दिएको योगदान सराहनीय रहेको बताए। उनका अनुसार यस्ता पहलहरूले सेना–जन सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्नेछ ।
बरख गणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले छिन्नमस्ता मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखी मन्दिर परिसरको संरक्षण, श्रद्धालु तथा पर्यटकमैत्री व्यवस्थापन, साथै स्थानीय तह, मन्दिर समिति र सुरक्षासंस्थाबीच सहकार्यलाई निरन्तर अघि बढाइने जानकारी दिए ।
मन्दिरभित्र श्रृंखलाबद्ध रूपमा प्रतिष्ठित पाँच देवी देवताका मूर्तिहरू भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र महिषमर्दिनीको धार्मिक महत्त्व पनि संक्षेपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीले मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जी.सी., २७ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी नारायण बहादुर थापा, र बरख गणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दलाई कदरपत्र प्रदान गर्दै नेपाली सेनाको योगदानप्रति आभार व्यक्त गरे ।
मन्दिर संरक्षण समितिका प्रतिनिधिहरूले “नेपाली सेना सुरक्षा मात्र होइन, संस्कृति संरक्षण र समुदायसँग सहयात्रामा पनि समर्पित छ” भन्ने स्पष्ट सन्देश दिएको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |