सप्तरी । लगातारको अविरल वर्षाका कारण सप्तरीको सप्तकोसी नगरपालिका–६ स्थित बोचही बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दाहरू जोखिममा परेका छन् । बाढीको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा उद्धार कार्य सञ्चालन गरी प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रजिअ पोखरेलको समन्वयमा सुरक्षा निकाय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा उद्धार कार्य सम्पन्न गरेका हुन् । उद्धारपछि सबै प्रभावित परिवारलाई राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।
बाढीले गर्दा स्थानीय बस्ती जलमग्न बनेको र जनजीवन प्रभावित भएपछि तत्काल उद्धार गर्नुपर्ने अवस्था आएको थियो । उद्धार गरिएको परिवारहरूलाई अस्थायी शिविरमा आवश्यक खाद्यान्न, पानी, औषधीलगायतको व्यवस्थापन भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रजिअ पोखरेलले बाढी जोखिम भएका अन्य क्षेत्रहरूमा समेत सतर्कता अपनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको र थप उद्धारको तयारी पनि गरिएको जानकारी दिएका छन् । प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |