राजविराज । जेनजी युवाहरूको पहलमा राजविराज विमानस्थलको भिआईपी कक्ष पूर्ण रूपमा बन्द गरिएको छ । बुधबार बिहान जेनजी समूहका अगुवा मुस्तकिम आलम, मोहन यादव, अमर यादव लगायतका युवाहरू विमानस्थल पुगेर भिआईपी कक्ष बन्द गर्न आग्रह गरेका थिए ।
उनीहरूले विमानस्थलका कार्यालय प्रमुखसँग कक्षभित्र रहेको सोफा लगायतका फर्निचर हटाउन माग गरेका थिए । नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख ज्योति प्रकाश साहले युवाहरूको मागलाई ध्यानमा राख्दै तत्काल भिआईपी कक्ष बन्द गरिएको र कक्षभित्र रहेका फर्निचरहरू हटाइएको जानकारी दिए ।
उनका अनुसार बिहानै सूचना टाँस गरी यात्रुहरूलाई नियमित प्रवेशद्वारबाट नै आवत–जावत गर्न आग्रह गरिएको छ ।
जेनजी युवाहरूको आगमनअघि नै विमानस्थल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा प्रदान गरेका थिए । बरख गणका प्रमुख सेनानी शोवित बहादुर चन्दको नेतृत्वमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका थिए ।
भदौ २३ र २४ गतेको आन्दोलन पश्चात् भदौ २५ गते नै सुचना टास गरि भिआईपी कक्ष बन्द गरेको बताईएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |