राजविराज । वर्षौंदेखि प्रतीक्षित राजविराज बसपार्क अन्ततः शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने भएको छ । राजविराज–२ स्थित बसपार्क प्राङ्गणमा कावा नगरप्रमुख ईसरत परवेजको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकले राजविराज नगरपालिकाको बसपार्क सञ्चालन कार्यविधिअनुसार सम्पूर्ण सार्वजनिक सवारी साधनहरू बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । यदि कुनै सवारी साधन बसपार्कबाहिरबाट सञ्चालनमा आएमा, कार्यविधिअनुसार कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ ।
बैठकमा सहमतिपूर्वक सवारी साधनहरूको आगमन तथा प्रस्थान (इन र आउट) रुट पनि निर्धारण गरिएको छ । यातायात व्यवसायी विजय गुप्ताका अनुसार सबै सरोकारवालाको सहमतिमा तय गरिएका रुटहरू तत्काल लागू गरिनेछ ।
रूपनीबाट आउने गाडीहरू: मलेठ चौक – नहर – पडरिया – चुरामिल – गुलाब ग्यारेज – राजदेवी हुँदै बसपार्क
कंचनपुर र फतेपुरबाट आउने गाडीहरू: सिधै गुलाब ग्यारेज हुँदै बसपार्क
हनुमाननगरतर्फबाट आउने गाडीहरू: तेतरीगाछी हुँदै बसपार्क
सिरहा रोड तथा कुनौली सडक खण्डबाट आउने गाडीहरू: तेतरीगाछी हुँदै बसपार्क
रूपनी जाने गाडीहरू: गुलाब ग्यारेज – हनुमान मन्दिर हुँदै रूपनी
हुलाकी सडकपूर्वतर्फ जाने गाडीहरू: गुलाब ग्यारेज हुँदै पूर्वतर्फ
हनुमाननगर जाने गाडीहरू: राजदेवी स्कुल – झल्ही नहर हुँदै हनुमाननगर तर्फ
कुनौली तथा सिरहा सडकतर्फ जाने गाडीहरू: तेतरीगाछी हुँदै कुनौली सडक
सखडा जाने गाडीहरू: अरुण इँटा भट्टा हुँदै सखडा
पश्चिम सिरहा रोडतर्फ जाने गाडीहरू: गुलाब ग्यारेज – हनुमान मन्दिर – मदननगर – खर्साल हुँदै सिरहा रोड
राजदेवी चोकमा निर्माण सम्पन्न भई उद्घाटन भइसकेको बसपार्क लामो समयसम्म प्रयोगमा नआउँदा यात्रु तथा व्यवसायीहरू समस्यामा परिरहेका थिए। अब भने सबै सवारी साधन बसपार्कमार्फत सञ्चालन हुने भएपछि सो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरीक्षक गौतम कुमार केसी, यातायात व्यवसायी संघका अध्यक्ष दिनेश गुप्ता, व्यवसायी विजय गुप्ता, पत्रकार चन्दनकुमार यादव, सुरक्षा निकाय, जेनसी प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |