राजविराज । वर्तमान परिस्थितिमा पत्रकारिताको चुनौती र जोखिम बढ्दै गएको हुँदा पत्रकारहरूले पहिलो प्राथमिकता आफ्नै सुरक्षा हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा अग्रज सञ्चारकर्मीहरूले मर्यादित र जिम्मेवार पत्रकारितामार्फत पेशाको इज्जत कायम राख्नुपर्ने सुझाव दिएका छन् ।
प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले अहिलेको अवस्था पत्रकारहरूका लागि निकै चुनौतीपूर्ण र असुरक्षित बन्दै गएको भन्दै पत्रकारहरूले पहिले आफू सुरक्षित भएर मात्र पेशामा लाग्नुपर्नेमा जोड दिए। उनले भने, “पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाएर व्यावसायिक ढंगले अगाडि बढाउन पत्रकार स्वयं इमान्दार र अनुशासित हुन जरुरी छ ।”
पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले जेनजी आन्दोलनका क्रममा राज्यका तीनवटै अंग कार्यपालिका, विधायिका र न्यायपालिका माथि प्रहार भएको बताउँदै, “चौथो अंग भनिने सञ्चारजगत पनि त्यसबाट अछुतो रहन सकेको छैन,” भने ।
प्रेस युनियनका अध्यक्ष विनय कर्णले हालको अवस्थामा पत्रकारिता पेशा अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भने, “युट्युबरहरूको गैरजिम्मेवार गतिविधिका कारण पत्रकारिता क्षेत्र बदनाम भएको छ। यस्ता युट्युबरहरूलाई कानुनी दायरामा ल्याउन जरुरी छ।”
कार्यक्रममा वक्ताहरूले पत्रकारितामा देखिएका विकृति–विसंगति अन्त्य गर्न तथा सञ्चार क्षेत्रको मर्यादा कायम राख्न सबै सञ्चारकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका उपाध्यक्ष अम्विका दाहाल, शाखाका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव, अनिल अनल, शाखा सल्लाहकार बैधनाथ यादव, प्रेस सेन्टर अध्यक्ष बिन्दु यादव, प्रेस मञ्च अध्यक्ष धर्मपाल राउत, सतिश दत्तलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य शाखा उपाध्यक्ष रामनारायण विश्वसले गरेका थिए भने सञ्चालन सह–सचिव डम्बर राईले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |