राजविराज । पुजारी राम दुलार साहको हत्याका दोषीलाई सार्वजनिक गर्न माग गर्दै राजविराजमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
तेली कल्याण समाज नेपाल, जिल्ला शाखा सप्तरीले आज गजेन्द्रनारायण चौकमा दीप प्रज्वलन गरी न्यायका लागि ऐक्यबद्धता जनाइएको हो ।
कार्यक्रममा वक्ताहरूले पुजारी राम दुलार साहको हत्याको निष्पक्ष छानबिन गरी दोषीहरूलाई सार्वजनिक गर्न माग गर्दै प्रहरी प्रशासन “मुखदर्शक” बनेको आरोप लगाए ।
उनीहरूले चेतावनी दिंदै भने, “यदि प्रशासन मौन रह्यो भने, आगामी दिनमा सबै संघ–संस्था, राजनीतिक दल र आम नागरिकहरू एकजुट भएर संयुक्त दबाबमूलक आन्दोलन सञ्चालन गरिनेछ ।”
कार्यक्रमका क्रममा सहभागीहरूले एक मिनेट मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र दीप प्रज्वलनमार्फत न्यायका लागि एकता प्रदर्शन गरे । केन्द्रीय महिला अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति)ले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायका लागि समाज एकढिक्का रहेको बताइन् ।
कार्यक्रमको अध्यक्षता समाजका जिल्ला अध्यक्ष अमृतलाल साहले गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार नेत्र विक्रम साह, केन्द्रीय सदस्य तथा केन्द्रीय महिला अध्यक्ष सुनिता कुमारी साह, साह सेवा सदनका जिल्ला अध्यक्ष योगेन्द्र साह, जिल्ला सदस्य रमानन्द साह, जिल्ला सह–सचिव सिंगेश्वर साह, वैश्य समाजका जिल्ला अध्यक्ष श्याम साह, जिल्ला सचिव योगेन्द्र प्रसाद साह र जिल्ला महिला अध्यक्ष प्रमिला साह लगायतका अतिथिहरू उपस्थित थिए ।
त्यस्तै, दिपेन्द्र साह, अनिरुद्ध साह, नेपाली कांग्रेसका युवा नेता घनानन्द यादव, नेता इन्द्रदेव र राजु साहलगायतका वक्ताहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |