







Memo Khabar 
राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनका अनुसार शनिबार विहान करिब ११ः १५ बजे मोहन साहको घरमा कपडा सुकाउने फलामको तारमा अचानक विद्युत प्रवाह हुँदा लुगा सुकाउँदै गरेकी उनकी बुहारी २८ वर्षीया मालती देवी साह गम्भीर घाइते भइन् ।
उनीलाई उद्धार गर्ने क्रममा उनकी सासू ५० वर्षीया सिता देवी साह र छिमेकी ६० वर्षीय रामपृत साह पनि करेन्ट लागेर घाइते भएका थिए ।
गम्भीर घाइते मालतीसहित तीनै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएकोमा उपचारको क्रममा बिहान ११ः ३६ बजे डाक्टरले मालती देवी साहलाई मृत घोषणा गरेका छन् । अन्य दुबै जनाको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |