







Memo Khabar 
राजविराज । करिब चार महिनादेखि प्रधानाध्यापक अनुपस्थित रहेपछि विष्णुपुर गाउँपालिका–१ खुरहुरियास्थित जनता माध्यमिक विद्यालयको पठन–पाठन प्रभावित भएको भन्दै सङ्घर्ष समितिले सोमबार पालिकाको ध्यानाकर्षण गराएको छ ।
स्थानीय अभिभावकको सहभागितामा गठित सङ्घर्ष समितिका संयोजक प्रेमनारायण यादवको नेतृत्वमा पाँच दिने अल्टिमेटम सहित ध्यानाकर्षणपत्र पालिकामा बुझाइएको हो ।
पालिकाका प्रशासकीय प्रमुख उज्ज्वल आनन्दलाई ध्यानाकर्षणपत्र बुझाउँदै समितिले तत्काल नयाँ प्रधानाध्यापकको व्यवस्था गरी विद्यालयमा नियमित शैक्षिक वातावरण कायम गर्न माग गरेको छ ।
समितिले प्रधानाध्यापक अशोक कुमार यादवले विद्यालय सुचारु रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाउँदै चालु शैक्षिक सत्र सुरू भएको छ महिनासम्म रुटिन समेत नबनाएको, आयव्यय सार्वजनिक नगरेको, अभिभावकद्वारा गठित लेखा समितिलाई अधुरो हिसाब–किताब दिएकोजस्ता अनियमितता फेला परेको उल्लेख गरेको छ ।
लेखा समितिलाई उपलब्ध गराइएका कागजात अनुसार पाठ्यपुस्तक, छात्रवृत्ति तथा ओजेटी रकम वितरणसम्बन्धी भर्पाई समेत उपलब्ध नगराएको र प्रिन्टर खरिद, कुतबाली, प्रमाणपत्र शुल्कसम्बन्धी भर्पाई माग गरेपछि २०८२ असार २० गतेदेखि हालसम्म विद्यालयबाट फरार रहेको समितिको दाबी छ ।
सङ्घर्ष समितिले प्रधानाध्यापक यादवलाई पदच्युत गरी नयाँ नेतृत्व नियुक्त गर्नुपर्ने र विद्यालयमा नियमित अध्यापन सुनिश्चित गर्नुपर्ने माग राखेको छ । माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समितिले दिएको छ ।
ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रशासकीय प्रमुख आनन्दले समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |