







चन्दन यादब 
राजविराज । छिन्नमस्ता गाउँपालिका–५ लोखरममा फैलिएको झाडा–पखाला (हैजा) नियन्त्रणका लागि जोखिमयुक्त बस्तीमा सरसफाई तथा किटनाशक औषधि छर्कने अभियान जारी छ । बुधवार फेर मेडको सहयोग, गाउँपालिकाको समन्वय तथा सबल नेपालको आयोजनामा सो अभियान सञ्चालन गरिएको हो ।
अभियानमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजोदेवी यादव, वडा अध्यक्ष जयप्रकाश ठाकुरलगायत जनप्रतिनिधिहरू सहभागी रहे। अध्यक्ष चौधरीले सरसफाई तथा चेतनाको अभावका कारण महामारी फैलिएको बताउँदै नियन्त्रणका लागि सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
सबल नेपालका वरिष्ठ व्यवस्थापक अशोक साहका अनुसार घर–घरमा किटनाशक छर्किनुका साथै हातधुने सही तरिका, खानेपानी शुद्धिकरण तथा सरसफाईसम्बन्धी व्यवहारिक अभ्यासहरू पनि गराइएको छ। सो अभियानमा स्वास्थ्यकर्मी, स्वयंसेविका र ८ जना स्वयंसेवकको टोली परिचालन गरिएको थियो ।
यसअघि झाडा–पखालाबाट एकै परिवारका तीनजनाको मृत्यु भएको छ । कात्तिक ६ मा एक वर्षका सञ्जीव, कात्तिक ११ मा ६६ वर्षका लक्ष्मण र कात्तिक १४ मा ४ वर्षीया राघिनीको ज्यान गएको थियो।
हाल लोखरमको सदाटोलमा हैजा संक्रमण पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलवार स्वास्थ्य परीक्षणका लागि पठाइएका पाँचैजनामा बुधवार हैजा पोजिटिभ देखिएको कार्यालयले पुष्टि गरेको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |