







Memo Khabar 
जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवादले झनै उग्र रुप लिँदै गएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यकक्षमा शनिबार तोडफोड गरिएको छ ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलका प्रदेश सांसद र कार्यकर्ताहरूले प्रदेश प्रमुखको राजीनामाको माग गर्दै प्रदर्शनका क्रममा तोडफोड गरेका हुन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड, गमला र अन्य सामग्री तोडफोड गर्दै नाराबाजी गरेका छन् ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत तोडफोड भएको थियो। प्रदर्शनकारीहरूले प्रदेश प्रमुख भण्डारीले संविधानविपरीत एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन्।
अस्वस्थ भएपछि काठमाडौं उपचारका लागि गएकी प्रदेश प्रमुख भण्डारीले बर्दिबासस्थित एक होटेलमा यादवलाई शपथ गराएकी थिइन्। विपक्षी दलहरूले यसलाई संवैधानिक र राजनीतिक मर्यादाविपरीत कदम भन्दै कडा विरोध जनाएका छन् ।
हाल प्रदेश प्रमुख कार्यालय परिसरमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। प्रदेशमा राजनीतिक तनाव बढ्दै गएपछि स्थायित्व र संवैधानिक प्रक्रिया सुनिश्चित गर्न केन्द्र सरकारको ध्यानाकर्षण गरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |