







Memo Khabar 
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले सरकारमाथि आफ्ना माग पूरा गराउन दबाब बढाउने उद्देश्यले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । संविधान संशोधनसहित २८ बुँदे माग अघि सार्दै पार्टीले चरणबद्ध संघर्षको सुरुवात गरेको हो ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा भएको धर्नामा केन्द्र, जिल्ला र स्थानीय तहका नेताकार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरकारलाई जनतासँग सरोकार राख्ने मागहरू तत्काल सम्बोधन गर्न आग्रह गर्दै नाराबाजीसमेत गरेका थिए ।
यसअघि जसपा नेपाल सप्तरीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्रीलाई २८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सम्बोधन नभए थप कडा संघर्षमा उत्रिने चेतावनी दिइएको छ । ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले उक्त मागपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका छन् ।
पार्टीका अनुसार संघर्षका कार्यक्रम अझ सशक्त बनाइनेछ। मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्ड र ब्यानरसहित निरन्तर शान्तिपूर्ण धर्ना दिइनेछ भने मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला–स्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिनेछ ।
यसका साथै पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ गते नेपालगन्ज तथा भैरहवामा प्रदेश–स्तरीय जनप्रदर्शन तथा विरोध सभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको जसपा नेपालले जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |