







Memo Khabar 
राजविराज । राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गर्नुपर्ने मागसहित शुक्रबारदेखि यहाँ रिले अनसन सुरु गरिएको छ ।
करदाता सेवा कार्यालयलाई गाभ्ने/खारेज गर्ने सरकारी निर्णयका विरुद्ध जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा विभिन्न स्थानीय निकायका पदाधिकारी सहभागी भएर पहिलो दिनको अनसन गजेन्द्र चौकमा सम्पन्न भयो ।
बिहान ११:३० बजेबाट सुरु भएको पहिलो दिनको रिले अनसनमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परविन, डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विष्णुपुरका अध्यक्ष उमेश कुमार यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, राजविराजका निलम्बित मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, अग्नीसाइर कृष्णासवरणका वडा अध्यक्ष तेजनारायण यादवलगायतका जनप्रतिनिधि सहभागी थिए, भन्दै तयारी समितिका सदस्य जयनारायण यादवले जानकारी दिए ।
संघर्ष समितिका संयोजक मोहन यादवका अनुसार करदाता सेवा कार्यालयलाई नै स्तरोन्नति गरी आन्तरिक राजस्व कार्यालयको रूपमा स्थापना गर्नुपर्ने एक मात्र मागसहित संघर्ष थालिएको हो । गाभ्ने वा खारेज गर्ने निर्णय तत्काल रोक्न उनले सरकारलाई आग्रह गरे । उनका अनुसार माग पूरा नभएसम्म संघर्ष निरन्तर रहनेछ ।
राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाता छन् र गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो ।
सरकारले हाल देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवाहरू आन्तरिक राजस्व कार्यालयमार्फत मात्रै प्रदान गर्ने नीति अघि बढाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |