







चन्दन यादब 
राजविराज । समुन्नति कार्यक्रम अन्तर्गत सबल नेपालले सप्तरीको पश्चिमी भेगस्थित सुरूङ्गा नगरपालिकामा सञ्चालन गरेका कार्यक्रमहरूको मंगलबार अनुगमन गरिएको छ ।
नगर कार्यक्रम सल्लाहकार समितिद्वारा अनुगमन तथा समीक्षा बैठक गर्दै सुरूङ्गा नगरपालिकाका विभिन्न वडामा सञ्चालन भएका कार्यक्रमहरूको स्थलगत अवलोकन गरिएको हो ।
अनुगमनका क्रममा सुरूङ्गा नगरपालिका वडा नं. ७ हरिपुरमा दलित, जेहेन्दार तथा एकल परिवारका बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले नवजागृति सहकारी संस्था लिमिटेडमा बाल अक्षयकोष स्थापना गरिएको पाइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले ५ लाख ६५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो । उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकममध्ये गरिब, जेहेन्दार तथा एकल महिलाका छोरा–छोरीहरूको पढाइमा १० प्रतिशत खर्च गरिँदै आएको छ ।
सहकारीका म्यानेजर नारायणप्रसाद साहका अनुसार २०७५ सालको वार्षिक साधारणसभामा ६५ हजार रुपैयाँ थप सहयोग प्राप्त भएपछि वडा नं. ६ देखि ११ सम्मका बालबालिकाको शैक्षिक खर्च जुटाउन ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । हाल उक्त अक्षयकोषको ब्याजबाट दलित, टुहुरा, असहाय तथा विपन्न समुदायका ७ जना छात्र–छात्रालाई मासिक ३०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिँदै आएको उनले जानकारी दिए ।
यसैगरी अनुगमन क्रममा सुरूङ्गा नगरपालिका वडा नं. ९ स्थित जनता आधारभूत विद्यालय, प्रमाणपुर तथा मुसहरनियाँ आधारभूत विद्यालय, समसेरपुरमा सबल नेपालले गुणस्तरीय शिक्षामा टेवा पुर्याउन शैक्षिक सामग्री वितरण, रंगरोगन, शौचालय निर्माण तथा हरित विद्यालय निर्माणमा गरेको सहयोगको समेत अवलोकन गरिएको छ । अनुगमन समितिका सदस्य तथा वडा नं. ४ का अध्यक्ष देवेन्द्र चौधरीका अनुसार आवश्यक सल्लाह र सुझावसमेत दिइएको छ ।
अनुगमन कार्यक्रममा सुरूङ्गा नगरपालिका उपप्रमुख रुद्रबहादुर कार्की, वडा नं. ४ का अध्यक्ष देवेन्द्र चौधरी, सामाजिक विकास संयोजक, वडा नं. ७ का शिवनारायण चौधरी, कृषि शाखाका रोशन चौधरी, स्वास्थ्य शाखाका भूषण सुनारैत, दशरथ चौधरी, शिक्षा प्रमुख हिरालाल राणा, नगर बाल सञ्जाल अध्यक्ष देव साह, प्रणिषा पाण्डे, सबल नेपालका फिल्ड संयोजक अशोककुमार साह, राधेश्याम राम, अनुगमन संयोजक चन्दन चौधरी तथा पत्रकार चन्दनकुमार यादव र महेश सिंह लगायतको सहभागिता रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |