







Memo Khabar 
सप्तरी । “नै करु वियाहके बात, वियाह करु बीस बर्षके बाद” भन्ने नारासहित तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ र ५ लाई बुघबार औपचारिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
बाल अधिकार संरक्षण तथा बालविवाह अन्त्यका लागि समुदाय स्तरमा लामो समयदेखि सञ्चालन हुँदै आएका सचेतना कार्यक्रम र सरोकारवाला निकायबीचको समन्वित प्रयासको परिणामस्वरूप दुवै वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
गाउँपालिका, वडा कार्यालय तथा सरोकारवाला निकायहरूको संयुक्त आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालविवाह कानुनी अपराध मात्र नभई गम्भीर सामाजिक विकृति भएको उल्लेख गरे। उनले बालविवाह अन्त्यका लागि समुदायको निरन्तर सहभागिता र सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।
कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा गम्भीर असर पार्ने भएकाले अभिभावक, विद्यालय र स्थानीय तहबीचको समन्वयमा निगरानी प्रणाली थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गरिने जनाइएको छ ।
घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुल कुमारी साह, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललन प्रसाद राउत, सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, गाउँपालिकाका बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह लगायत स्थानीय जनप्रतिनिधि, शिक्षाकर्मी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, कृषि समूहका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा गाउँ समाजका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |