







Memo Khabar 
राजविराज । बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदम चाल्दै तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ लाई औपचारिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
आइतबार तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ को कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, महिला समूह, बाल क्लब तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा सामूहिक प्रतिबद्धतासहित दुवै वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालविवाह सामाजिक अपराध भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनसँगै समुदायको चेतना र सक्रिय सहभागिता अनिवार्य रहेको बताए । अध्यक्ष मण्डलले बालविवाह रोक्न वडा स्तरबाट निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि तथा सम्बन्धित निकायसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बालविवाह सम्बन्धी कानुनी प्रावधान, यसको दीर्घकालीन सामाजिक असर तथा रोकथामका उपायबारे वक्ताहरूले जानकारीमूलक मन्तव्य दिएका थिए । साथै बाल क्लब तथा विद्यालयका विद्यार्थीहरूले चेतनामूलक प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी सबैले बालविवाह नगर्ने र बालविवाह भएको वा हुन लागेको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा सूचना दिने सामूहिक प्रतिबद्धता जनाएका थिए ।
वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मण्डल, बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह लगायत स्थानीय तहका जनप्रतिनिधि, शिक्षक–विद्यार्थी, महिला समूह, अभिभावक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |