







चन्दन यादब 
राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि ‘सुधारः सोचदेखि शासनसम्म’ लाई आफ्नो मुख्य चुनावी अवधारणा तथा एजेण्डाका रूपमा अघि सारेको छ ।
सोमबार रास्वपा सप्तरीका प्रतिनिधि सभाका लागि आकांक्षी समानुपातिक सांसदहरूले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरूले सो कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै आकांक्षी सांसद बरुण झाले पार्टीले नागरिकको सोचदेखि शासन–सत्ताको संरचनासम्म आमूल परिवर्तनलाई राजनीतिक आधार बनाएको बताए । उनका अनुसार संविधान परिमार्जन, भ्रष्टाचारमा शून्य सहनशीलता र मौलिक हकको प्रभावकारी कार्यान्वयन रास्वपाका प्रमुख चुनावी मुद्दा हुन् ।
‘सुधारः सोचदेखि शासनसम्म’ प्रतिवेदनमार्फत यस अवधारणालाई पार्टीको चुनावी अभियानको मूल सोचका रूपमा परिभाषित गरिएको झाको भनाइ थियो ।
अर्का आकांक्षी सांसद आनन्द मिश्राले सप्तरीमा विगतका सांसदहरूले जनतालाई आश्वासनबाहेक केही नदिएको आरोप लगाउँदै अब जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या र विकासका सम्भावनालाई एजेण्डा बनाइने बताए ।
यस अवधारणाले नागरिकको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली र राजनीतिक नेतृत्वको दृष्टिकोणमा परिवर्तन ल्याउँदै शासन प्रणालीमा व्यापक सुधार गर्ने लक्ष्य लिएको झाले स्पष्ट पारे ।
डा. अंकिता ठाकुरले परम्परागत राजनीति र यथास्थितिवादलाई तोड्दै नयाँ दृष्टि र दिशासहित घोषणापत्रमार्फत जनतामाझ जाने पार्टीको तयारी रहेको जानकारी दिइन् ।
जिल्ला अध्यक्ष डम्बर नारायण साहले पार्टी स्थापना कालदेखि उठाउँदै आएको अकुत सम्पत्ति छानबिन र ठूला भ्रष्टाचार काण्डमाथि निर्मम कारबाहीलाई प्रमुख चुनावी एजेण्डा बनाइने बताए। उनका अनुसार वर्तमान तथा पूर्व उच्च पदस्थ राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्वको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनेछ ।
युवा नेता मोहम्मद ईरफान आलमले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता संविधान प्रदत्त मौलिक हकहरूको कार्यान्वयनका लागि स्पष्ट योजनासहित चुनावी अभियानमा जाने रास्वपाको तयारी रहेको बताए ।
त्यसैगरी अर्की आकांक्षी सांसद प्राध्यापक बन्दना मिश्राले आर्थिक तथा सामाजिक असमानतालाई राजनीतिक अस्थिरताको मूल कारण मान्दै यसको अन्त्यका लागि विषयगत विज्ञहरूको टोली बनाएर ठोस योजना तयार गरिने जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका लागि आकांक्षी सांसदहरू बरुण झा, आनन्द मिश्र, डा. अंकिता ठाकुर, पुष्पा चौधरी, डम्बर नारायण साह, रिता चौधरी, मोहम्मद ईरफान आलम, बन्दना मिश्र, विष्णु यादवसहित ९ जनाको उपस्थिति रहेको पार्टीका युवा नेता खेलानन्द दासले जानकारी दिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |