







चन्दन यादब 
राजविराज । प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राजबिराज–४ को १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
वि.सं. २०६८ सालमा २५ जना सदस्यबाट सञ्चालन सुरु भएको संस्थामा हाल २ हजार ५ जना शेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष सरफराज अन्सारीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले कुल १९ करोड ५९ लाख ५७ हजार २०० रुपैयाँको कारोबार गरेको छ ।
हाल संस्थामा ४ हजार शेयर रहेका छन् भने १० करोड ८० लाख २ हजार ६०२ रुपैयाँ लगानी गरिएको छ । संस्थाका व्यवस्थापक राजकुमार साहले जानकारी दिँदै शेयर पूँजी ७९ लाख ५५ हजार ८०० रुपैयाँ पुगेको बताए । गत आर्थिक वर्षमा संस्थाले २ लाख ७ हजार २९० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
संस्थाले दैनिक, मासिक, अवधिक, ऐच्छिक बचतलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारीका सल्लाहकार सबिर आजमले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परविनले सहकारीप्रति आम समुदायमा नकारात्मक धारणा बढ्दै गएको उल्लेख गर्दै आर्थिक कारोबार पारदर्शी बनाएर विश्वासको वातावरण सिर्जना गर्न सहकारीकर्मीहरूलाई आग्रह गरिन् ।
त्यसैगरी बचत तथा ऋण सहकारी संघ सप्तरीका जिल्ला अध्यक्ष भवानी चौधरीले सहकारीमा पारदर्शिता र इमान्दारिताको अभावकै कारण आम विश्वास घट्दै गएको बताए । उनले सहकारी सञ्चालन समिति, व्यवस्थापक र कर्मचारीहरूले इमान्दारितापूर्वक काम नगर्दा सहकारीप्रति नकारात्मक प्रभाव परेको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन गुप्ताले केही सहकारीहरूले समयमै आर्थिक विवरण सार्वजनिक नगर्दा शेयर सदस्यहरूको विश्वास कमजोर हुँदै गएको बताए । उनले सहकारीको नियमित अनुगमन र निरीक्षणका लागि ‘सहकारी डेस्क’ स्थापना गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष सरफराज अन्सारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा कार्यवाहक नगर प्रमुख इसरत परविन, जिल्ला अध्यक्ष भवानी चौधरी, राजबिराज नगरपालिका वडा नं. ४ का वडा सदस्य सुभाष साह, संस्थाका सदस्य लक्ष्मण यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य कल्पना मिश्राले गरेकी थिइन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |