







चन्दन यादब 
राजविराज । जानकी अयोधी मञ्जु प्रा.डा. चिरञ्जीवी च्यारिटी ट्रस्ट, राजविराजले दोस्रो स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार राजविराज नगरपालिका–१६ बोरिया स्थित नवनिर्मित ट्रस्ट प्राङ्गणमा आयोजित कार्यक्रममा मबिव क्याम्पसका अवकाशप्राप्त पूर्व क्याम्पस प्रमुख तथा ट्रस्टका अध्यक्ष प्रा.डा. चिरञ्जीवी लाल देवले २५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए । सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।
बोरियाकै स्थानीयवासीसमेत रहेका अध्यक्ष डा. चिरञ्जीवी देवले समाजसेवाभन्दा ठूलो सेवा अरू केही नभएको उल्लेख गर्दै आफ्ना आमाबुबाको नाममा ट्रस्ट स्थापना गरी सामाजिक सेवामा समर्पित हुने उद्देश्य रहेको बताए ।
उनले ट्रस्टको आफ्नै भवन निर्माण गरी असहाय, गरिब तथा जेष्ठ नागरिकहरूको सेवाका लागि निःशुल्क स्वास्थ्य क्लिनिक, अनाथहरूका लागि आश्रय गृह तथा निःशुल्क शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा राजविराज नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष रामएकवाल यादव, नेपाल रेडक्रस सोसाइटी सप्तरी शाखाका अध्यक्ष योगेन्द्र भगत, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, समाजसेवी भोगेन्द्र चौधरीलगायतले जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेका थिए ।
त्यसैगरी स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उषा देव, रेडियोलोजिस्ट डा. राजेश देव, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. अमित देव तथा जनरल मेडिसिन विशेषज्ञ डा. खुश्बु देवले स्थानीय १२५ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |