







Memo Khabar 
राजविराज । प्रधानमन्त्री कप पुरुष सिनियर जिल्ला स्तरीय छनोट क्रिकेट प्रतियोगितामा राजविराजले छिन्नमस्तालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सोमबार राजविराजस्थित पविमावि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित ५० ओभरमा मात्र २१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८६ रन बनायो । छिन्नमस्ताका लागि राजन यादवले १८ रन र समिम रायनले १४ रनको योगदान दिए ।
बलिङतर्फ राजविराजका पप्पु यादव (ए) ले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। त्यस्तै, कृष्णा यादव (ए) ले ३ विकेट हात पारे भने मनिष मण्डल र केशव रजकले समान १–१ विकेट लिए ।
८७ रनको सामान्य लक्ष्य पछ्याएको राजविराजले २२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। राजविराजका लागि शत्रुघन चौधरीले १७ रन, पप्पु यादव (ए) ले १५ रन, निरज यादवले १२ रन र फियाज आलमले १० रन बनाए ।
बलिङतर्फ छिन्नमस्ताका कर्णबहादुर विकले ४ विकेट लिए भने राजन यादवले १ विकेट हात पारे ।
राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ । सोही प्रतियोगिताअन्तर्गत सप्तरी क्रिकेट संघको व्यवस्थापनमा एमसीसी फाउण्डेशन र सबल नेपालको सहकार्यमा जिल्ला छनोट प्रतियोगिता सञ्चालन गरिएको हो ।
सप्तरी क्रिकेट संघका रोशन मण्डलका अनुसार प्रतियोगिताअन्तर्गत भोलिको खेल राजदेवी र लोहजरा टिमबीच हुनेछ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |