







चन्दन यादब 
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवले मनोनयन दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवारी दिएका यादवले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। लामो समय माओवादी राजनीतिमा सक्रिय रहेका यादव दुई साताअघि मात्रै नेकपा माओवादी केन्द्र परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका थिए .।
यादव यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्दै पराजित भएका थिए । उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार यादवले ११ हजार ५७९ मत प्राप्त गरेका थिए भने उपेन्द्र यादवले २१ हजार ६२० मत ल्याएर विजय हासिल गरेका थिए ।
यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट इन्जिनियर रामजी यादवले पनि मनोनयन दर्ता गराएका छन् । त्यस्तै, उज्यालो नेपालबाट डा. दीपक चौधरी र नेपाली जनता पार्टीबाट रञ्जु झाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
सप्तरी–२ मा कूल १ लाख ५ हजार ९२२ मतदाता रहेका छन् । तीमध्ये ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला तथा २ जना अन्य मतदाता रहेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |