







Memo Khabar 
राजविराज । आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट १७ जना, क्षेत्र नं. २ बाट १४ जना, क्षेत्र नं. ३ बाट १९ जना र क्षेत्र नं. ४ बाट १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मंगलबार चारवटै निर्वाचन क्षेत्रमा रहेका निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराएका थिए। निर्वाचन क्षेत्र नं. १ का लागि कञ्चनरुप नगरपालिका, क्षेत्र नं. २ का लागि जिल्ला खेलकुद विकास समिति राजविराज, क्षेत्र नं. ३ का लागि शम्भुनाथ नगरपालिका तथा क्षेत्र नं. ४ का लागि खडक नगरपालिकामा अवस्थित निर्वाचन कार्यालयमा मनोनयन प्रक्रिया सम्पन्न भएको हो ।
निर्वाचन क्षेत्र नं. १
यस क्षेत्रमा नेपाली काँग्रेसका रामदेव साह, नेकपा एमालेका सुमनराज प्याकुरेल, नेपाली कम्युनिष्ट पार्टीका सागरकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा चौधरी, स्वाभिमान पार्टीका सुमितकुमार साह, जनमत पार्टीका डा. जयकान्त राउत, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्ख नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजितकुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीकी टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद देव तथा स्वतन्त्र उम्मेदवार संजयकुमार शर्मा, उम्दादेवी सदा, जगदेव सदा र रिजवाना खातुनले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नं. २
यस क्षेत्रबाट नेपाली काँग्रेसका रामकुमार यादव, नेकपा एमालेका मो. जियाउल रहमान, नेपाली कम्युनिष्ट पार्टीका सूर्यनाथ यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालका उमेशकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव, स्वाभिमान पार्टीका सतिशकुमार सिंह, नेपाल जनता पार्टीकी रञ्जु ठाकुर, जनता लोकतान्त्रिक पार्टीका बलराम प्रसाद यादव, उज्यालो नेपाल पार्टीका दिपक चौधरी, नेपाल मजदुर किसान पार्टीकी निलमकुमारी यादव, आम जनता पार्टीका सुनिलराज दास, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डल तथा स्वतन्त्र उम्मेदवार प्रेमकुमार यादवले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. ३
यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेशकुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी, जनमत पार्टीका सुरेन्द्र शर्मा मधेशी, उज्यालो नेपाल पार्टीका परमेश्वर प्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभु प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वर प्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्रकुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोषकुमार चमन तथा स्वतन्त्र उम्मेदवार कोशिला देवी पासमान, हरिनारायण पासमान, रजिया देवी यादव, सरिता कुमारी यादव, प्रभुनारायण चौधरी र दुवीलाल यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नं. ४
यस क्षेत्रमा नेपाली काँग्रेसका तेजुलाल चौधरी, नेकपा एमालेका बालकृष्ण चौधरी, नेपाली कम्युनिष्ट पार्टीकी रुबी कर्ण, जसपा नेपालका डा. बवी सिंह यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह, नेपाल जनता पार्टीका कोशल किशोर दास, उज्यालो नेपाल पार्टीका विसो कुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साह तथा स्वतन्त्र उम्मेदवार सन्तोष प्रसाद सिंह र सुनिल कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेका अनुसार प्रत्यक्षतर्फका चार पदका लागि भएको उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। उम्मेदवारहरूले लाइनमा बसेर मनोनयन दर्ता गराएकाले मंगलबार रातिसम्म सबै विवरण संकलन गरिएको उनले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लाभर २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल ४ लाख ४६ हजार ४०२ मतदाता रहेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |