







Memo Khabar 
राजविराज । मधेश आन्दोलनका अग्रज नेता तथा सामाजिक न्यायका प्रखर पक्षधर गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि आज विभिन्न कार्यक्रम गरी स्मरण गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चोकमा स्व. गजेन्द्र नारायण सिंहको सालिकमा राजनीतिक दलका नेताहरूले माल्यार्पण गर्दै उहाँको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार तथा पूर्व मन्त्री उमेश यादवले गजेन्द्र नारायण सिंहका विचार, सिद्धान्त र संघर्ष आज पनि मधेशको अधिकार, पहिचान र समावेशी लोकतन्त्रको मार्गदर्शकका रूपमा जीवित रहेको बताए ।
सिंहले आफ्नो सम्पूर्ण राजनीतिक जीवन समानता, संघीयता, सामाजिक न्याय र मधेशी जनताको अधिकारलाई केन्द्रमा राखेर संघर्ष गर्नुभएको स्मरण गरियो ।
जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहले राज्यका सबै नागरिकलाई समान हैसियत दिनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण सिंहको रहेको बताए। विशेषगरी मधेशका जनतामाथि भइरहेको विभेद, उपेक्षा र बहिष्करणविरुद्ध उहाँले वैचारिक र राजनीतिक लडाइँ लड्नुभएको उनको भनाइ थियो ।
त्यस्तै, अर्का नेता सुनिल झाले सिंहको मूल सिद्धान्त शान्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक पद्धतिमार्फत परिवर्तन रहेको उल्लेख गरे । उनले हिंसाको होइन, विचार र संगठनको शक्तिबाट अधिकार प्राप्त गर्न सकिने विश्वास दिलाएको बताए ।
जसपा सप्तरीका उपाध्यक्ष लक्ष्मण यादवले मधेश आन्दोलनलाई भावनात्मकभन्दा पनि वैचारिक र नीतिगत आधारमा अघि बढाउन सिंहको भूमिका महत्वपूर्ण रहेको बताए । सामाजिक समरसता र राष्ट्रिय एकताप्रति उहाँको सोच स्पष्ट रहेको उनको भनाइ थियो ।
जसपा नेपाल राजविराज नगर अध्यक्ष अरुण यादवले मधेश र पहाडबीच विभाजन होइन, समान अधिकारका आधारमा एकता आवश्यक छ भन्ने सिंहको धारणा आजको संघीय नेपालका लागि अझै सान्दर्भिक रहेको बताए। संघीय संरचनालाई राष्ट्रिय एकता कमजोर पार्ने होइन, झन् बलियो बनाउने आधारका रूपमा उहाँले व्याख्या गर्नुभएको उल्लेख गरे ।
यसैगरी, जसपा नेपालका युवा नेता विनोद यादवले वर्तमान राजनीतिक नेतृत्वले सिंहका विचार र सिद्धान्तबाट प्रेरणा लिनुपर्नेमा जोड दिए। “सत्ता होइन, सिद्धान्त; पद होइन, प्रतिबद्धता” भन्ने उहाँको राजनीतिक आचरण आजको राजनीतिमा दुर्लभ बन्दै गएको नेताहरूले बताए ।
गजेन्द्र नारायण सिंहको योगदान केवल एउटा राजनीतिक धारासम्म सीमित नभई न्यायपूर्ण राज्य निर्माणको दीर्घकालीन सपनासँग जोडिएको स्मरण गरियो ।
उहाँको पुण्यतिथिमा उहाँका विचार आत्मसात् गर्दै लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको मार्गमा अघि बढ्नु नै सच्चा श्रद्धाञ्जली हुने सहभागीहरूको धारणा रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |