







चन्दन यादब 
राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले मतदातालाई आफ्नो मताधिकार सचेत, जिम्मेवार र विवेकपूर्ण ढंगले प्रयोग गर्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले संघीयता, गणतन्त्र तथा समानुपातिक–समावेशी पहिचानको विपक्षमा उभिने शक्तिविरुद्ध मत प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
जसपा नेपालबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका यादवले घुमाउरो रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति संकेत गर्दै संघीय व्यवस्था अस्वीकार गर्ने शक्तिलाई मत दिने कि लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने उम्मेदवारलाई मत दिने भन्ने गम्भीर प्रश्न उठाएका छन् ।
संघीयता अस्वीकार गर्दै प्रदेशसभा निर्वाचनमा भाग नलिने र उम्मेदवारसमेत नउठाउने प्रवृत्तितर्फ संकेत गर्दै उनले भनेका छन्, “गणतन्त्र, संघीयता र समावेशी पहिचानका लागि निरन्तर संघर्ष गर्दै आएको शक्तिलाई मत दिने कि संघीयतालाई नै नकार्ने शक्तिलाई ?”
मधेसी जनताको पहिचान, पहुँच र सम्मानका विषय उठाउँदै यादवले छठ पर्वका क्रममा रानीपोखरीमा रोक लगाइएको घटनाको स्मरण गर्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहप्रति लक्षित टिप्पणीसमेत गरेका छन् ।
उनले काठमाडौंमा बसोबास गर्ने मधेसी समुदाय तथा कवाडी व्यवसायीमाथि भएको व्यवहारप्रति प्रश्न उठाउँदै मधेसीको हक–अधिकारका पक्षमा आवाज उठाउने शक्तिलाई मत दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएका आन्दोलन र क्रान्तिमा प्रत्यक्ष भूमिका खेलेका उम्मेदवार र ‘कस्मेटिक तथा प्रचारमुखी’ रूपमा अघि सारिएका उम्मेदवारबीच स्पष्ट भेद गर्न मतदातालाई आग्रह गरेका छन् ।
“काँधमा राष्ट्रिय झण्डा ओढेर सस्तो लोकप्रियताले देशले निकास पाउन सक्दैन,” भन्दै उनले जिल्लाको विकासमा योगदान पुर्याउन सक्ने र देशलाई सही दिशामा लैजान सक्ने परिपक्व नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा विघटन र पुनः निर्वाचनको सन्दर्भ उठाउँदै उनले भदौ २३ र २४ का आन्दोलन कसैलाई प्रधानमन्त्री वा उम्मेदवार बनाउनका लागि मात्र भएको थियो कि भन्ने प्रश्नसमेत उठाएका छन् ।
राज्यसत्ताको चरित्र परिवर्तन गरी जनअधिकार थप सुनिश्चित गर्नुको सट्टा सत्ता–केन्द्रित राजनीतिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वमन्त्री यादवले बाह्य शक्तिको प्रभावमा उम्मेदवार बनेकाहरूले देशलाई संकटतर्फ धकेल्न सक्ने चेतावनी दिँदै राष्ट्रलाई रणभूमि बनाउने षड्यन्त्र असफल पार्न अग्रगामी शक्तिलाई मत दिन मतदातासँग आग्रह गरेका छन् ।
अन्त्यमा उनले गम्भीरतापूर्वक सोच्न, देशलाई दुर्घटनाबाट जोगाउन र सप्तरीको विकासलाई गति दिन आफ्नो अमूल्य मत सही ठाउँमा प्रयोग गर्न अपिल गरेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |