







Memo Khabar 
राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयअन्तर्गत रहेको प्रहरी बिटमा कार्यरत प्रहरी कर्मचारीले महिला व्यापारीसँग रकम लिएको दृश्य सार्वजनिक भएपछि नेपाल प्रहरीको आचरण, अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।
आइतबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित प्रहरी बिटमा कार्यरत नेपाल प्रहरीका हबल्दार डी. यादवले महिला व्यापारीसँग पैसा लिँदै गरेको दृश्य फोटो तथा भिडियोमा कैद गर्न खोज्दा नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवलाई नियन्त्रणमा लिएका थिए । सार्वजनिक स्थानमा भइरहेको गतिविधि अभिलेख गर्न खोज्दा पत्रकारलाई नै नियन्त्रणमा लिनुले घटनालाई ढाकछोप गर्ने प्रयास भएको आशंका गरिएको छ ।
स्थानीयका अनुसार उक्त प्रहरी बिटमा यस्ता गतिविधि नयाँ नभए पनि यसअघि बाहिर आउन सकेका थिएनन् । पत्रकारलाई करिब १५ मिनेट नियन्त्रणमा राखेर छाडिए पनि घटनाले प्रहरीभित्रको आन्तरिक निगरानी प्रणाली र भ्रष्टाचार नियन्त्रण संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले सार्वजनिक स्थानमा हुने गतिविधिको रिपोर्टिङ गर्नु पत्रकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पत्रकारमाथि गरिएको हस्तक्षेप अस्वीकार्य रहेको बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कडा कारबाही नगरे प्रेस स्वतन्त्रतामाथि खतरनाक नजिर बस्ने चेतावनी दिए ।
भन्सार नाकासँग जोडिएका यस्ता घटनाले व्यापारीमाथि अनावश्यक दबाब बढ्ने र प्रहरी–नागरिक सम्बन्धमा गहिरो अविश्वास सिर्जना हुने भन्दै स्थानीय नागरिक समाज तथा सरोकारवालाले छानबिनको माग गरेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |