







भूषण सिहं 
राजबिराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादवले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा यादवले संविधान संशोधन, आत्मनिर्णयको अधिकार, नेपालको स्वाधीनता, सप्तरी र मधेसको सम्मान तथा गौरवको रक्षा आफ्नो प्रमुख एजेन्डा रहेको बताए । साथै विकास निर्माण, समान शिक्षा, उत्पीडित समुदायको सुरक्षा, गरिब तथा सुकुम्बासीको समस्या समाधान, कृषि क्षेत्रको विकास, युवाका लागि रोजगारी र अवसर सिर्जना तथा राज्यका नीति निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिताका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफू निर्वाचित भएपछि जनतासँग सम्बन्ध टुट्ने भ्रम तोड्ने दाबी गर्दै विगतमा संविधानसभा सदस्य, व्यवस्थापिका संसद सदस्य तथा मन्त्री हुँदा पनि काठमाडौंभन्दा बढी समय निर्वाचन क्षेत्रमै बिताएको स्मरण गराए । “जनप्रतिनिधि जनताको निगरानी, नियन्त्रण, निर्णय र निर्देशनमा चल्नुपर्छ,” उनले भने ।
यादवले प्रतिनिधिसभा क्षेत्रमा ‘जनपरिषद्’ गठन गर्ने नयाँ अवधारणा अघि सारे । टोल, वडा र पालिका तहमा जनपरिषद् गठन गरी महिनामा नियमित बैठक, आधुनिक प्रविधिबाट जोडिने व्यवस्था तथा तिनै परिषद्को निर्णयअनुसार संसदमा आवाज उठाउने उनको योजना छ । संसदमा आउने विधेयकहरू समेत जनपरिषद्मा छलफल गराएर जनमतका आधारमा संघर्ष गर्ने उनले बताए ।
राजबिराजको बिटोरी जग्गा प्रकरण, व्यापारी र व्यवसायीको पलायन, शैक्षिक संस्थाप्रतिको घट्दो विश्वास, गर्ल्स होस्टल र महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै यादवले यी समस्याको समाधानलाई प्राथमिकतामा राख्ने बताए । कृषि क्षेत्रलाई उत्पादनसँगै वातावरण र जलसंकटसँग जोडेर हेर्नुपर्नेमा जोड दिँदै अत्यधिक रासायनिक मल र विषादी प्रयोगले माटो र स्वास्थ्यमा पारिरहेको असरप्रति सचेत गराए ।
“गरिबी, असमान शिक्षा, असुरक्षा, युवाको विदेश पलायन र कृषि संकट समाधान नगरी समाजवाद सम्भव छैन,” उनले भने । ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, क्लिन राजबिराज’को नारालाई व्यवहारमा उतार्दै आत्मनिर्भर नागरिक र सीपयुक्त युवा निर्माणका लागि सबै तहका सरकारमाथि दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्त्यमा सप्तरी क्षेत्र नम्बर–२ का मतदातासँग विनम्रतापूर्वक मत र सहयोगको अपिल गरे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |