







भूषण सिहं 
राजविराज । आसन्न फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, राजविराजद्वारा जारी सूचनामा निर्वाचन आयोग नेपालबाट स्वीकृत निर्वाचन आचारसंहिता–२०८२ अनुसार सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि तथा सरोकारवाला सबैलाई कसैको पक्ष वा विपक्षमा सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न/नगराउन सूचित गरिएको छ।
सूचनामा एसएमएस, सामाजिक सञ्जाल, अनलाइन छापा तथा विद्युतीय माध्यममार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग गरी वा नगरी कुनै पनि किसिमका प्रचारात्मक सामग्री पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको वा गराइएको पाइएमा निर्वाचन आचारसंहिता–२०८२ बमोजिम आवश्यक कारबाही गरिने निर्वाचन अनुगमन अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |