







चन्दन यादब 
राजविराज । राजविराजमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत शुक्रबार सम्पन्न खेलमा महोत्तरीले धनुषामाथि ६० रनको प्रभावशाली जित हात पारेको छ । प्रतियोगितामा महोत्तरीको यो पहिलो जित हो ।
सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत टस जितेको धनुषाले पहिले फिल्डिङ रोज्दै महोत्तरीलाई ब्याटिङको निम्तो दिएको थियो । ब्याटिङमा उत्रिएको महोत्तरीले संयमित प्रदर्शन गर्दै ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
महोत्तरीका लागि आदित्य मण्डल र राजकुमार सहनीले समान २७–२७ रनको योगदान दिए। श्याम मण्डलले २२ रन बनाउँदा अभिषेक तिवारीले १४ रन जोडे। अन्य ब्याट्सम्यानको सानो–सानो योगदानका कारण महोत्तरी सम्मानजनक स्कोरमा पुग्न सफल भयो ।
बलिङतर्फ धनुषाका हरिशंकर र विशाल सुश्लिङले समान ३–३ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे । अभिजित मण्डलले २ विकेट हात पारे भने अखिलेश ठाकुरले १ विकेट झारे ।
१६८ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको धनुषा भने अपेक्षित प्रदर्शन गर्न असफल रह्यो। महोत्तरीका बलरहरूको कसिलो बलिङका कारण धनुषा २७ ओभर १ बलमै अलआउट हुँदै मात्र १०७ रनमा सीमित भयो ।
धनुषाका लागि मयन यादवले सर्वाधिक ३९ रन बनाए। श्याम रायले १७ रन र रूपेश यादवले १५ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् ।
महोत्तरीको जितमा रमेश सहनीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ९ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र २५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै आकाश मण्डलले ३ विकेट लिँदा अभिषेक तिवारीले १ विकेट हात पारे ।
उत्कृष्ट प्रदर्शनका लागि महोत्तरीका रमेश सहनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र कुमार यादवले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरे ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रतियोगिता अन्तर्गत शनिबार धनुषा र महोत्तरीबीच पुनः प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |