







Memo Khabar 
विराटनगर । कर्तव्य निर्वाहकै क्रममा मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा सहभागी सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको आकस्मिक निधन भएको छ ।
नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उच्च अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए। बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
अस्पतालमा पुर्याएलगत्तै सघन उपचार सुरु गरिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । अस्पतालका अनुसार उच्च रक्तचापका कारण अचानक स्वास्थ्य अवस्था बिग्रिँदा उनको ज्यान गएको हो । बेहोस हुने क्रममा जिब्रोमा चोट लाग्नुका साथै अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरको सहारा लिनुपरेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरे सीमा सुरक्षा सम्बन्धी महत्त्वपूर्ण बैठकमा सक्रिय सहभागिता जनाइरहेका बेला यो दुःखद घटना भएको हो । घटनापछि बैठकस्थलमा शोकको वातावरण छाएको थियो ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै कर्तव्यकै क्रममा एक जिम्मेवार अधिकृत गुमाउनुपरेको बताए ।
नम्बर ३ बाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका एसपी घिमिरे शनिबार कार्यभार सम्हाल्ने तयारीमा थिए। तर, नयाँ जिम्मेवारी सम्हाल्नुअघि नै राष्ट्र सेवामा रहँदै उनको जीवन अन्त्य भएको हो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |