







Memo Khabar 
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित खलनायक तथा बहुआयामिक कलाकार सुनिल थापाको निधनले नेपाली फिल्म उद्योग शोकमा डुबेको छ । नेपाली र भारतीय चलचित्रमा दशकौँसम्म सक्रिय रहँदै आएका थापाले आफ्ना सशक्त अभिनयमार्फत दर्शकको मनमा अलग पहिचान बनाएका थिए ।
चलचित्रमा ‘राते काँइला’ नामले चिनिने थापा विशेषगरी नकारात्मक भूमिकामा उत्कृष्ट अभिनयका लागि परिचित थिए। उनका पात्रहरू केवल खलनायकमा सीमित नभई कथालाई बलियो बनाउने आधारका रूपमा स्थापित भएका थिए । उनले अभिनय गरेको धेरै चलचित्र आज पनि दर्शकमाझ स्मरणीय छन् ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।
नेपाली चलचित्रसँगै भारतीय चलचित्र उद्योगमा समेत काम गरेका थापाले सीमापारि समेत नेपाली कलाकारको उपस्थिति र क्षमता चिनाउन योगदान पुर्याएका थिए । उनको निधनलाई चलचित्रकर्मीहरूले नेपाली सिनेमा क्षेत्रका लागि अपूरणीय क्षतिका रूपमा लिएका छन् ।
वरिष्ठ कलाकार सुनिल थापाको योगदान र अभिनयको विरासत नेपाली चलचित्र इतिहासमा सदैव स्मरणीय रहनेछ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |