पुनः प्रतिस्पर्धामा डा. सीके राउत
पछिल्लो निर्वाचनमा विजयी जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त (सीके) राउत पनि पुनः प्रतिस्पर्धामा छन् । ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’देखि लिएर ‘नयाँ गणतन्त्र नै देशको निकास’ भन्ने एजेण्डासहित उनी चुनावी मैदानमा उत्रिएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था, विज्ञद्वारा मन्त्रालय सञ्चालन, सांसद मन्त्री नबन्ने, संसदमा ह्वीप नलाग्ने तथा जनमतसंग्रहबाट ऐन बनाउनेजस्ता एजेण्डा उनका छन् । न्यायाधीश र संवैधानिक निकायका प्रमुखसमेत प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको धारणा छ ।
जनता समाजवादी पार्टी नेपाल बाट उमेशकुमार यादव
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेशकुमार यादव पूर्वमन्त्री हुन् । जनताको सम्मान, आत्मनिर्णयको अधिकार, संविधान संशोधन, मानवीय तथा भौतिक विकास उनका प्रमुख एजेण्डा छन् । उत्पीडित समुदायको सुरक्षा, गरिब तथा सुकुम्बासी समस्या समाधान, कृषि विकास र युवाका लागि रोजगारी सिर्जनाका लागि संघर्ष गर्ने उनको भनाइ छ ।
स्वाभिमान पार्टीबाट पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका छन् । मुलुकको स्वाभिमान रक्षा, पीडित समुदायको उत्थान, रोजगारी र कृषि समस्या समाधानलाई उनले मुख्य एजेण्डा बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. रामजी यादव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. रामजी यादवले जेन–जी पुस्ताको चाहनाअनुसार परिवर्तन सम्भव बनाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् । वि.सं. २०७३ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राजनीति सुरु गरेका उनले विधिको शासन, सुशासन, पारदर्शिता, विकास, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य एजेण्डा बनाएका छन् । संघीयता र समावेशीताको पूर्ण कार्यान्वयन तथा विपन्न, गरिब र दलित समुदायका अधिकार सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ ।
नेपाली कम्युनिस्ट पार्टी बाट सूर्यनाथप्रसाद यादव
नेकपा का उम्मेदवार सूर्यनाथप्रसाद यादव पूर्वसांसद हुन्। उनले जनतासँगै उभिएर शोषणविरुद्ध संघर्ष गर्ने र विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएका छन्।
जनअधिकार पार्टीबाट डा. शरदसिंह यादव
जनअधिकार पार्टीका उम्मेदवार डा. शरदसिंह यादवले १४ वर्षअघि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । संघीयतालाई सबल बनाउने, स्वास्थ्य, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ । मुलुकमै पहिलोपटक टाउन प्लानिङका आधारमा बसाइएको राजविराज सहर हाल बस्नलायक नबनेको उल्लेख गर्दै यसको व्यवस्थित विकास आवश्यक रहेको उनले बताए । जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न उम्मेदवारी दिएको उनको भनाइ छ ।
उज्यालो नेपाल पार्टीबाट डा. दीपक चौधरी
उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. दीपक चौधरीले ‘नातावाद, कृपावाद र भ्रष्टाचारको अन्त्य’लाई प्रमुख चुनावी नारा बनाएका छन् । ‘राजनीतिक विकृति हटाएर सप्तरीको शिर उच्च बनाऔं’ भन्ने नारासहित उनी घरदैलो अभियानमा सक्रिय छन् । जेन–जी पुस्ताले खोजेको परिवर्तन ल्याउन आफू उपयुक्त उम्मेदवार भएको उनको दाबी छ ।
अन्य दल र स्वतन्त्र उम्मेदवार
यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकुमार यादव, नेकपा एमालेबाट मोहम्मद सफिद रहमान, जनता लोकतान्त्रिक पार्टीबाट बलरामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टीबाट अनिश अन्सारी, राष्ट्र निर्माण दलबाट अफरोज आलम लगायत उम्मेदवार छन् ।त्यसैगरी विभिन्न साना दलका साथै १४ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
मतदाता संख्या
सप्तरी–२ मा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कुल १ लाख ५ हजार ९ सय २२ मतदाता रहेका छन् । परिवर्तन, सुशासन र विकासका मुद्दाले यसपटक सप्तरी–२ को निर्वाचनलाई निकै रोचक बनाएको स्थानीयवासीहरूको प्रतिक्रिया छ ।



























हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |