







Memo Khabar 
राजविराज । राजविराजमा जारी प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत शनिबार सम्पन्न खेलमा धनुषाले सिरहालाई ४६ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा टस जितेको सिरहाले पहिले फिल्डिङ गर्ने निर्णय गर्दै धनुषालाई ब्याटिङको निम्तो दिएको थियो ।
पहिले ब्याटिङ गरेको धनुषा टोली ३१ ओभर १ बलमै सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो । धनुषाका लागि अखिलेश ठाकुरले सर्वाधिक २२ रन बनाए भने विशाल सुश्लिंगले १९, हरिशंकर साहले १४, मयन यादवले १३ रन जोडे। यस्तै अली अकबर र हिमान्सु दत्तले समान १२–१२ रनको योगदान दिए ।
सिरहाका बलरहरूको कसिलो प्रदर्शनका कारण धनुषाका ब्याट्सम्यानहरू लामो समय टिक्न सकेनन् । बलिङतर्फ दुर्गेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । प्रदीप पासवानले ४ विकेट हात पारे भने अफरूद्विन रायनले १ विकेट लिए ।
१३३ रनको लक्ष्य पछ्याएको सिरहा टोली ३० ओभर ३ बलमा मात्र ८६ रनमा अलआउट हुन पुग्यो। सिरहाका लागि दिपेश दासले ३७ रन र राकेश कामतीले २७ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
धनुषाका बलरहरूले अनुशासित तथा आक्रामक बलिङ प्रदर्शन गर्दै सिरहाका ब्याट्सम्यानहरूलाई सस्तोमै पवेलियन फर्काए। बलिङतर्फ विशाल सुश्लिंगले ९ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिँदै निर्णायक भूमिका खेले । यस्तै अभिजित मण्डल र हरिशंकर साहले समान २–२ विकेट लिए भने रूपेश यादव र अखिलेश ठाकुरले १–१ विकेट हात पारे ।
उत्कृष्ट अलराउन्ड प्रदर्शनका कारण धनुषाका विशाल सुश्लिंग ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई मधेश प्रदेश क्रिकेट संघका सदस्य मुकेश कुमार साहले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।
सप्तरी क्रिकेट संघका सदस्य डम्बर नारायण दासका अनुसार प्रतियोगिता अन्तर्गत शनिबार सप्तरी र महोत्तरीबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |