







चन्दन यादब 
राजबिराज । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी, राजबिराजको सभाहलमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख रमेश जोशीले जिल्लाको समग्र निर्वाचन अवस्थाबारे विस्तृत प्रस्तुतीकरण प्रस्तुत गरेका थिए। उनका अनुसार सप्तरीका चार निर्वाचन क्षेत्रमा कुल ५६२ मतदान केन्द्र र २९६ मतदान स्थल तोकिएका छन् । जिल्लामा कुल ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेका छन् ।
प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रमा १०२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जानकारी पनि प्रमुख जोशीले दिए।
यस्तै, मतदानमा सबै वर्गको सहभागिता सुनिश्चित गर्न दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जनाइएको छ। ती मतदान केन्द्रहरू
राजबिराजस्थित जिल्ला कारागार र जिल्ला समन्वय समितिमा रहनेछन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले निर्वाचन सफल बनाउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले सत्यतथ्य र निष्पक्ष सूचना सम्प्रेषणमार्फत स्वच्छ निर्वाचन सम्पन्न गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरे ।
साथै, मतदाता शिक्षा कमजोर रहेको उल्लेख गर्दै मतदाता शिक्षा स्वयंसेवकलाई सक्रिय बनाइ मत बदर दर घटाउन निर्वाचन कार्यालयले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले निर्वाचन आचारसंहिताको दायराभित्र रही जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सञ्चारकर्मीहरूले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्दै निष्पक्ष र मर्यादित निर्वाचनमा सहयोग पुर्याउने बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका दर्जनौं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा निर्वाचन प्रक्रिया, आचारसंहिता, मतदाता शिक्षा तथा सञ्चारमाध्यमको दायित्वका विषयमा छलफल गरिएको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |