राजविराज । आज सम्पन्न दोस्रो खेलमा तिरहुत टाइगर्सले रोयल च्यालेन्जर्स बरही वीरपुरलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
१३८ रनको लक्ष्य पछ्याएको टाइगर्सले १७.५ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । टाइगर्सका ओपनर भोला शाहले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए । यस्तै, निरज यादवले २५ बलमा २७ रन तथा दिनेश अधिकारीले ११ बलमा अविजित २२ रनको योगदान दिए । वीरपुरका राहुल विकले २ तथा विकास दासले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बरही वीरपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । टिमका ओपनर तृत राज दासले ४९ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए जुन प्रतियोगिताको पहिलो अर्धशतक पनि हो । अमित यादवले ३०, राहुल विकले २१ र विकास दास (ए) ले १८ रन जोडे ।
तिरहुत टाइगर्सका बलर चित्र बहादुर बिष्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए । अनिल यादव र श्रवण यादवले समान २-२ विकेट लिए ।
उत्कृष्ट प्रदर्शनका लागि तिरहुत टाइगर्सका भोला शाह ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
पुरस्कार वितरणको अवसरमा राजविराज नगरपालिकाका योजना अधिकृत मनोज यादव, राजविराज वडा नं. ५ का अध्यक्ष बन्धु दास र छिन्नमस्ता गाउँपालिका वडा नं. १ का अध्यक्ष ललन प्रसाद यादवले दुवै खेलका ‘प्लेयर अफ द म्याच’लाई पुरस्कार प्रदान गरेको सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |