राजबिराज । सप्तरीको राजदेवी मन्दिरमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा फूलपाती भित्र्याएका छन् ।
दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर शास्त्रीय विधिअनुसार घर–घरमा शुभ साइतमा भित्र्याइँदैछ ।
घटस्थापनादेखि वैदिक परम्परा अनुसार दुर्गाको आह्वान गरी पूजा–आराधना हुँदै आएको दशैँ घर वा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक फूल र मानवृक्ष भित्र्याउने परम्परा रहिआएको छ ।
राजदेवी मन्दिरमा आयोजित कार्यक्रममा सप्तरी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना भलुवाही ब्यारेक गणपति सोवित चन्द, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहेको थियो ।
नेपालमा दशैं विभिन्न समुदायले आफ्ना–आफ्नै शैलीमा मनाउने परम्परा छ । नेपाली सेनाले पनि आफ्नै मौलिक र ऐतिहासिक शैलीमा दशैं मनाउने गर्छ । सेनाका सबै ब्यारेकमा आफ्नै परम्परा अनुसार दशैं मनाइन्छ भने हनुमानढोका सेनाका लागि विशेष महत्वको स्थान मानिन्छ ।
घटस्थापनाको दिन हनुमानढोका स्थित दशैंघरमा जमरा राखेपछि सेनाको दशैं सुरु हुने परम्परा छ । त्यसै दिन बोकाको बलि दिई पूजा गरिन्छ र त्यसको मासु दशैंघरमा कार्यरत कर्मचारीहरूले खाने चलन रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |