राजविराज । राजविराज नगरपालिका–२ गुलाब ग्यारेज अगाडिको सार्वजनिक जग्गामा मोहर्रम ‘दाहा मेला’का लागि निर्माण गरिएको संरचना राजविराज नगरपालिकाले भोलि भत्काउने निर्णय गरेपछि लामो समयदेखि जारी विवाद टुंगिएको छ ।
यस विषयमा मंगलवार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अगुवाइमा भएको छलफलमा मोहर्रमका लागि सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना भत्काउने र लक्ष्मी पूजाको कार्यक्रम अन्यत्र स्थानान्तरण गर्ने निर्णय भएपछि विवाद समाधान भएको हो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले तत्काल निर्माण गरिएको संरचना हटाउने र सामाजिक सद्भाव कायम राख्दै लक्ष्मी पूजाको कार्यक्रम अर्को स्थानमा मनाउन सुझाव दिँदै बैठकबाट निर्णय भएको जानकारी दिए ।
बैठकमा धार्मिक रूपमा कुनै पनि समुदायले तत्काल सो स्थानमा कुनै पर्व, मेला वा धार्मिक कार्यक्रम आयोजना नगर्ने तथा झण्डा नराख्ने निर्णय समेत गरिएको छ ।
सोमबार स्थानीयले लक्ष्मी पूजाका लागि सोही स्थानमा झण्डा गाडेपछि मुस्लिम र हिन्दु समुदायबीच विवाद चर्किँदै सामान्य झडपसमेत भएको थियो ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउनुपर्ने र लक्ष्मी पूजाको लागि वैकल्पिक स्थान खोजिनुपर्ने सुझाव दिएका थिए ।
स्थानीय युवाहरूले नजिकिँदै गरेको लक्ष्मी पूजाको तयारी स्वरूप उक्त स्थानमा मूर्ति स्थापना गर्ने उद्देश्यले झण्डा गाडेका थिए। तर, मुस्लिम समुदायले सोही स्थानमा विगतदेखि मोहर्रम पर्वको ‘दाहा मेला’ आयोजना हुँदै आएको दाबी गर्दै पूजाको अनुमति नदिने अडान लिँदा विवाद चर्किएको थियो ।
उक्त सार्वजनिक जग्गामा मुस्लिम समुदायले परापूर्वकालदेखि नै मोहर्रमको दाहा मेला आयोजना गर्दै आएको बताइएको छ ।
एक पक्षले झण्डा उखाल्ने र अर्को पक्षले झण्डा जोगाउने क्रममा दुबै समूहबीच सामान्य झडपसमेत भएको थियो ।
यसअघि २०८२ असार २० गते तत्कालीन प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा दुबै पक्षबीच भएको छलफलमा सो संरचनालाई सार्वजनिक जग्गाबाट हटाउने निर्णय भएको थियो । तर, उक्त निर्णय कार्यान्वयन नभएकाले पुनः समस्या उत्पन्न भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |