







चन्दन यादब 
राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संविधान घोषणा प्रक्रियादेखि मधेसमा भएको ‘दमन’ र मधेसी जनताको बलिदानलाई उपेक्षा गरिएको आरोप लगाएका छन् ।
शुक्रवार राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति, सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो आरोप लगाए ।
पूर्वमन्त्री महतोले माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन एमाले नेता माधवकुमार नेपालको भूमिकालाई प्रश्न उठाउँदै भने, “संविधान निर्माणका बेला हामीले जनताको मत र सहिदहरूको रगत सम्झायौँ। तर घोषणा हुने बित्तिकै त्यही संविधानकै नाममा मधेसमा गोली चलाइयो। दिवाली मनाउनुको सट्टा मधेसले सहिदको रगत देख्यो ।”
उनले जेनजी आन्दोलनले मुलुकमा ल्याएको परिवर्तनलाई संस्थागत गर्न अन्तरिम संविधानमार्फत संरचनागत रूपान्तरण आवश्यक रहेको उल्लेख गरे ।
महतोका अनुसार पुराना दलहरू भ्रष्टाचार, अनियमितता नियन्त्रण र सुशासन कायम गर्न गम्भीर देखिएका छैनन् । उनले अहिले ‘पुरानो संसदलाई पुनर्जीवन दिने षड्यन्त्र चलिरहेको’ आरोप लगाए ।
युवा पुस्ताको माग पूरा गर्न सुशिला कार्कीको नेतृत्वमा बनेको सरकार पनि प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो । दमन र विभेदको विरुद्धमा विचारसहितको विकल्पका रूपमा ‘राष्ट्रिय मुक्ति पार्टी नै वास्तविक विकल्प’ रहेको दाबी उनले गरे ।
महतोका अनुसार मधेसका विभिन्न स्थानमा सहिद भएका आधा–दर्जनभन्दा बढी व्यक्तिहरू राजधानीबाट आएका आदेशकै कारण पर्ने दमनको परिणाम थिए ।
उन्होंने भने, “शोकसभामा सातै दलका नेता आए। तर त्यही जनसभा वा गाउँसभामा जनताले एक स्वरमा भने – ‘अब एक पार्टी बनाऊ, एक ब्यानर बनाऊ, एक आन्दोलन चलाऊ।’ त्यो आदेश मधेसकै आदेश थियो ।”
महतोका अनुसार जनताको यही आदेशपछि आफूहरूले कठिनाइबीच मधेसका विभिन्न समूह र दललाई एक ठाउँमा ल्याउने अभियान शुरू गरे। “छवटा साना समूह, मधेसवादी दलहरू, उपेन्द्र यादवको पार्टी, बाबूराम भट्टराईको पक्ष – सबैलाई एक ठाउँमा ल्याउने प्रक्रिया थाल्यौँ। अन्ततः जनता समाजवादी पार्टी (जसपा) निर्माण गरियो,” उनले स्मरण गरे ।
जसपा गठनपछि पहिचान, अधिकार र जनस्वाभिमानका मुद्दा सडकदेखि सदनसम्म एकताबद्ध रूपमा उठाइने अपेक्षा थियो । “जनताको आदेशलाई प्राथमिकता दिँदै पुराना नाम, पद र पार्टी पहिचानसम्म त्यागेका थियौँ,” महतोले बताए ।
उनका अनुसार मधेसवादी शक्तिलाई एक बनाउने अभियान शुरु भएको केही समयमै पार्टीभित्रै विभाजनको प्रवृत्ति देखापर्यो ।
“पार्टीभित्र नै समूह बनाउने, विभाजनका लागि निर्वाचन आयोग धाउने प्रवृत्तिले जसपाको उद्देश्यलाई कमजोर बनाइदियो,” महतोले भने ।
त्यसपछि ‘राष्ट्रिय जनता पार्टी’को नयाँ संरचना बनाउन खोज्दा पनि आन्तरिक विवादकै कारण यात्रा लामो भएको उनले बताए ।
महतोका अनुसार मधेस आन्दोलन, दलित आन्दोलन, जनजाति आन्दोलन- यी सबै अलग–अलग संघर्ष नभई समान उद्देश्यका आन्दोलन हुन् ।
“यी सबैलाई एकीकृत गरी राष्ट्रिय मुक्ति क्रान्ति सञ्चालन गर्न जनताले आदेश दिएका छन्,” उनले स्पष्ट पारे ।
उनका अनुसार नयाँ राजनीतिक यात्रा पद, नाम वा प्रतिष्ठाका लागि नभई जनताको सम्मान र पहिचानका लागि हो।
महतोले लोसपा हुँदै फेरि एक्लै राजनीतिक यात्रा अघि बढाउनुपरेको कारण जनभावनाबाट टाढा नहुनुपर्ने आवश्यकतासम्पन्न निर्णय रहेको बताए ।
“फागुनमा काठमाडौंबाट एक्लै यात्रा शुरू गरेँ। तर महाकालीदेखि मेचीसम्म आदिवासी, दलित, जनजाति, मधेसी सबैले भने – ‘विकल्प बन, आन्दोलन थाल,’” महतोले सुनाए ।
महतोले अन्त्यमा भने- “मधेसका सहिदको रगत र जनताको आदेशले नै आजको राष्ट्रिय मुक्ति पार्टी निर्माण भएको हो । जुनसुकै विवाद आए पनि जनताको सम्मान, पहिचान र अधिकारका लागि संघर्ष रोकिँदैन ।”
सो पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रीय सदस्य विकास तिवाडीले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका थिए । अध्यक्ष राजेन्द्र महतोले उनलाई फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा पार्टी नेता सन्तोष मेहता, गजेन्द्र मण्डल, सिताराम मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीलगायतको उपस्थिति थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |