







Memo Khabar 
राजविराज । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर- ३ लाई औपचारिक रूपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा तथा सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको समन्वयमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडा नम्बर ३ का वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, बाल क्लबका प्रतिनिधि, महिला समूह तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलाठी कोईलाडी गाउँपालिकाकी उपाध्यक्ष फुल कुमारी साहले बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने बताउँदै यसको अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । उनले बाल विवाह पुनः नदोहोर्याउन निरन्तर अनुगमन र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
यसैगरी, सेभ द सप्तरीका अध्यक्षले बाल विवाह अन्त्यका लागि निरन्तर सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम, नियमित निगरानी तथा सामुदायिक सहकार्यका कारण वडा बाल विवाह मुक्त घोषणा गर्न सफल भएको उल्लेख गर्दै सम्पूर्ण वडा बासिन्दालाई बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर- ३ का वडा अध्यक्ष रमेश कुमार मुखियाले गरेका थिए भने कार्यक्रम सञ्चालन तिलाठी कोईलाडी गाउँपालिकाका बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंहले गरेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |