







Memo Khabar 
राजविराज । बंगलादेशमा हिन्दु अल्पसंख्यक समुदायका ३० वर्षीय दिपु चन्द्र दासको हत्या गरिएको घटनाको विरोधमा विश्व हिन्दु परिषदले प्रदर्शन गरेको छ ।
सोमबार विश्व हिन्दु परिषद राजविराजले नगरका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
स्थानीय शिव मन्दिरको प्रांगणबाट निकालिएको विरोध र्याली नगर परिक्रमा गर्दै चर्का नाराबाजीसहित सम्पन्न भएको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले दिपु दासको हत्यामा संलग्न सबै दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने, बंगलादेशमा हिन्दु अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता तथा मठ–मन्दिरको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश सरकारसँग औपचारिक कूटनीतिक विरोध जनाउनुपर्ने, पीडित परिवारलाई न्याय, क्षतिपूर्ति तथा राज्यस्तरीय सुरक्षा उपलब्ध गराउनुपर्ने मागसहित ९ बुँदे ज्ञापनपत्र बुझाइएको परिषदले जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |