







चन्दन यादब 
राजविराज । कञ्चनरूप नगरपालिका–११ स्थित मुमताजुल उलुम मदरसामा कुनै किसिमको अनियमितता वा भ्रष्टाचार नभएको मदरसाका प्रधानाध्यापक ( प्रअ) मोहम्मद उसमानले दाबी गरेका छन् ।
मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रअ उसमानले विद्यार्थी संख्या अनुसार दिवा खाजा, भत्ता तथा सुविधा वितरण हुँदै आएको स्पष्ट पारे । उनले मदरसाको नाम जोडेर गलत भ्रम फैलाउने र मदरसा बन्द गराउने षड्यन्त्र भइरहेको आरोप लगाए ।
उनका अनुसार स्थानीय मोहम्मद उमर लगायत केही व्यक्तिहरूले व्यक्तिगत रिसिबीका कारण मदरसालाई विवादमा तान्दै समाजमा नकारात्मक प्रचार गरिरहेका छन्। समुदायभित्र भएको व्यक्तिगत झगडालाई मदरसासँग जोडेर बदनाम गर्ने प्रयास भइरहेको उनले बताए ।
यसै क्रममा कञ्चनरूप नगरपालिका–११ का पूर्व वडा अध्यक्ष तथा मदरसा व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद जिवरिलले पनि मदरसा सञ्चालन भएको छ वर्ष बितिसक्दा समेत कुनै अनियमितता वा भ्रष्टाचार नभएको बताए ।
उनले मदरसामा फर्जी विद्यार्थी देखाएर खाजा, भत्ता वा छात्रवृत्ति वितरण नगरिएको स्पष्ट पार्दै प्रधानाध्यापकविरुद्ध लगाइएका आरोप निराधार भएको प्रतिक्रिया दिए ।
पूर्व वडा अध्यक्ष जिवरिलले भने, “मैले पाँच वर्षसम्म वडा सञ्चालन गरेँ र जनताको सेवा गरेँ । अहिलेसम्म कुनै आरोप लागेको थिएन । अहिले मदरसासँग जोडेर ममाथि लगाइएका आरोप व्यक्तिगत रिसिबीका कारण हुन् ।”
उनले स्थानीय तथा आफ्नै नातेदार पर्ने मोहम्मद उमरले पारिवारिक रिसिबीका कारण मदरसासँग जोडेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
मदरसाका अभिभावक मोहम्मद जमिरले पनि मोहम्मद उमर मदरसाका अभिभावक समेत नभएको उल्लेख गर्दै मदरसा बन्द गराउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले मुस्लिम समुदायलाई दुई समूहमा विभाजन गर्ने र अरूलाई हेप्ने उद्देश्यले गलत प्रचार गरिएको बताए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |