







चन्दन यादब 
राजविराज । हिन्दु धर्मविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेका अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि हिन्दु सम्राट सेना र बजरङ्ग दलले सञ्चालन गर्दै आएको आन्दोलन स्थगित गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सम्पन्न वार्ताका क्रममा आलमले सार्वजनिक रूपमा माफी मागेपछि हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दल सप्तरीले जारी सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन् ।
हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासका अनुसार आलमलाई सार्वजनिक रूपमा माफी मगाउने, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने, कसैको धर्म, संस्कृति र आस्थामाथि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी नगर्ने तथा भविष्यमा यस्तो कार्य दोहोरिए कानुनी कारबाही प्रक्रिया अघि बढाइनेलगायतका निर्णयपछि आन्दोलन स्थगित गरिएको हो ।
उनका अनुसार आलमले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा माफी मागेका थिए ।
यसअघि आलमलाई कानुनी कारबाहीको माग गर्दै बिहीबार हिन्दु सम्राट सेना र बजरङ्ग दलले राजविराजका विभिन्न स्थानमा टायर बाल्दै दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा ‘आलमलाई कानुनी कारबाही गर’, ‘दोषीलाई कारबाही गर’, ‘जय श्रीराम’, ‘हिन्दु एकता जिन्दावाद’, ‘अफरोज आलम मुर्दावाद’ लगायतका नारा लगाउँदै नेता चौक, गजेन्द्र चौकस्थित हनुमान मन्दिर, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिएको थियो ।
हिन्दु देवी–देवतामाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दु सम्राट सेना, बजरङ्ग दल तथा विभिन्न हिन्दुवादी संघसंस्थाले शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा आमहडतालको आह्वान गरेका थिए ।
हडतालका क्रममा बिहानदेखि बजार, पसल, यातायात सेवा, उद्योग कलकारखाना, विद्यालय तथा सरकारी कार्यालय बन्द गराउँदै सडकमा टायर बालेर विरोध प्रदर्शन र मोटरसाइकल र्याली निकालिएको थियो ।
राजविराज नगरपालिका-१, रहमतपुर निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गरी अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति दिएको आरोप बजरङ्ग दल र हिन्दु सम्राट सेनाले लगाएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |