







Memo Khabar 
राजबिराज । आम जनता पार्टीका युवा नेता सुनिल राज दासले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दास निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
पहिलोपटक संसदीय निर्वाचनमा होमिएका दासले परिवर्तन र नयाँ राजनीतिक अभ्यासको एजेन्डासहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दासले भने, “यो चुनाव पद र कुर्सीका लागि होइन, अन्यायविरुद्ध आवाज उठाउन तथा गरिब, किसान र मजदुरको हक–अधिकार सुनिश्चित गर्नका लागि हो ।”
उनले आफ्नो उम्मेदवारी युवाको भविष्य सुरक्षित गर्न, क्षेत्रको समृद्धि तथा समग्र विकासका लागि भएको उल्लेख गरे । “म तपाईंकै बीचबाट आएको, तपाईंकै दुःख–सुख बुझ्ने र सधैं जनताको सेवामा समर्पित रहन चाहने एक साधारण सेवक हुँ,” उनले भने ।
दासका अनुसार जनताको अमूल्य मत र साथबाट मात्र भ्रष्टाचार अन्त्य गर्दै न्याय, समानता र विकासको बाटो खोल्न सकिन्छ। “आउनुहोस्, हातेमालो गरेर परिवर्तनको यात्रामा अघि बढौं । सत्य, इमान र जनताको पक्षमा उभिने उम्मेदवारलाई विजयी गराऔं,” उनले आग्रह गरे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |