







चन्दन यादब 
राजविराज । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउँदै जनताको भरोसामै आधारित राजनीति अघि बढिरहेको दाबी गरेका छन् ।
मंगलबार उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै राउतले सीमित प्रतिनिधित्वका बाबजुद पनि अघिल्लो कार्यकालमा उल्लेखनीय विकासीय काम भएको उल्लेख गरे । उनले भने, “पार्टीका सिट थोरै हुँदा पनि जनताको आवश्यकता र चाहनाअनुसार ६ सयभन्दा बढी विकास योजनाहरू कार्यान्वयन गरियो ।”
राउतका अनुसार यसपटक जनताको समर्थन अझ व्यापक हुने विश्वासका साथ चुनावी मैदानमा उत्रिएको जनमत पार्टी अहिले संगठनात्मक रूपमा पनि मजबुत अवस्थामा पुगेको छ ।
उम्मेदवारी दर्ताका क्रममा पार्टी कार्यालयबाट सुरु भएको नेता–कार्यकर्ताको जुलुस राजविराज–७ स्थित सप्तरी जिल्ला खेलकुद विकास समितिको परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेको थियो । जुलुसमा सहभागी कार्यकर्ता तथा समर्थकहरूमा उत्साह देखिन्थ्यो ।
राउतले विकास र राजनीतिक स्थायित्वलाई प्रमुख एजेन्डा बनाउँदै मतदातालाई जनमत पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |